धादिङ । धादिङको गजुरी गाउँपालिका(२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुने मध्ये छ जनाको सनाखत भएको छ । म्याग्दी रघुगंगा-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वत मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी-८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-११ का अन्दाजी २४ वर्षीय सुमन थापाको सनाखत भएको छ ।
पर्वत जलजला(६ कि ४२ वर्षीय राधिका सापकोटा, पर्वत मोदी-५ का ४५ वर्षीय झपड बहादुर क्षेत्रीको सनाखत भएको छ । दुई जना महिला छ जना पुरुषको दुर्घटना स्थलमै मृत्यु भएको थियो। मृतक एक जना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टरबाट र दुई जनाले इसेवाबाट टिकेट काटेका थिए । कलङ्कीबाट २ जना र धादिङको आदमघाटबाट दुई जना पुरुष चढेका थिए । सहचालक तामाङ सकुशल छन् ।
काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १७ जना घाइते छन् । १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकोले साँघुरो सडकमा ओभर्टेग गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।