सर्लाहीको लालबन्दीका बालबालिकामा कुपोषणको समस्या छ । लालबन्दी नगरपालिकाका वडा नम्बर–१४, १५ र १६ मा कुपोषित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको लालबन्दीका स्वास्थ्य सहायक रोशन चौधरीले बताउनुभयो । उहाँका अनुसार यी गाउँमा कुपोषित बालबालिकाको सङ्ख्या दुई सयभन्दा धेरै हुन सक्ने अनुमान छ ।

सरकारले पछिल्लो समय बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट जोगाउन विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि ती कार्यक्रम दुर्गम गाउँमा अहिलेसम्म प्रभावकारी रूपले लक्षित वर्गसम्म पुग्न नसकेको हो ।

बालबालिकालाई आवश्यक हेरचाह र समयमा खान खुवाउने अभिभावक घरमा नहुने भएकाले बालबालिका दुब्लो हुने गरेका लालबन्दी नगरपालिका–१५ बाहुनीडाँडाकी विनिता बाइवा बताउनुहुन्छ । दुर्गम गाउँ भएकाले स्वास्थ्यको पहुँच राम्रोसँग पुर्‍याउन नसकेको, गर्भावस्थामा आमाले पोषणयुक्त खाना नपाएको, जन्मिएका बच्चाले उचित पोषण नपाएकाे लालबन्दी नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका अधिकृत सुरेश खतिवडाको भनाइ छ । सडक नभएकाले गाउँमा कोही बिरामी पर्दा स्थानीय बासिन्दाले डोको र झोलुङ्गोमा तीन घण्टाको बाटो बोकेर लालबन्दीमा उपचार गर्न ल्याउनुपर्ने बाध्यता छ । #ujyaaloonline