मकवानपुर– बागमती प्रदेश सरकारको बाल विवाह मुक्त प्रदेश निर्माण गर्ने अभियान अन्तरगत मकवानपुरमा खटिएका सहजकर्ताले जिल्लामा दुईवटा बाल विवाह रोक्न सफल भएको छ । बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ताको पहलमा मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पुरा नभएका दुई जोडी बालबालिकाहरुको बुधबार प्रेम विवाह रोकिएको हो ।
बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पविना लामा र सिवीन बालहेल्पलाइन मकवानपुरको पहल तथा गाउँपालिकाका उपाध्यक्ष पार्वती राना र वडा प्रहरी कार्यालय भीमफेदीको समन्वयमा १६ वर्षिय बालक र १३ वर्षिया बालिका विचको प्रेम विवाह बदर गरिएको हो । दुवै बालबालिकाहरुको अभिभावकहरु वीच गाउँपालिका अध्यक्ष हिदम लामा, बालहेल्पलाइन प्रमुख झविन्द्र ज्ञवाली, सहजकर्ता पविना लामा, वडा नम्बर ६ का वडा अध्यक्ष सिताराम थापा, महिला तथा बालबालिका प्रमुख दुर्गा घिमिरे लगायतको उपस्थिततिमा छलफल गराएर विवाह बदर गरिएको हो । छलफलपछि बालविवाह सम्वन्धि कानुनी प्रावधानबा विषयमा दुवै परिवारका अभिभावकहरु प्रष्ट भए पछि आ–आफ्नो छोराछोरी जिम्मा लिन राजी भएको सिवीन मकवानपुरले जनाएको छ । दुवै परिवारले छोराछोरी पढ्दै गरेकाले पढाईमा निरन्तरता दिन पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । विवाह बदर भए लगतै १३ वर्षिय बालिकाको अभिभावकको सहमतिमा पालिकाको सिफारिस अनुसार केही दिन बालहेप्लाइन प्रमुख ज्ञवालीको नेतृत्वमा बालिकालाई परामर्शकालागि बालहेल्पला्इन हेटौंडामा पठाइएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका १४ का १३ वर्षिय बालिका र बकैया ७ का १७ वर्षिया बालक वीचको प्रेम विवाह पनि बदर गएिको छ । बकैया ७ वडा अध्यक्ष रामकाजी लामिछानेको नेतृत्वमा बालहेल्पला्इन हेटौंडामा बालबालिकाको दुवै परिवार बिच छलफल गराएर अभिभावकहरुले आ–आफ्नो छोरा छोरी जिम्मा लिएका हुन् । छलफलमा बकैया ७ का अध्यक्ष रामकाजी लामिछाने, सहजकर्ता पविना लामा, बालहेल्पला्इनका झविन्द्र ज्ञवाली, हेटौंडा उपमहानगरपालिकाबाट कानुनी सहनकर्ता रोनिता लम्साल तथा उपमेयर मिना लामाको सचिवालयबाट रुपा विडारीको सहभागिता रहेको थियो । बालिकालाई अभिभावकको सहमति र उपमहानगरपलिकाको सिफारिसमा केही दिन बालहेल्पला्इन मा राखिएको छ भने बालकलाई उसैको परिवारको जिम्मा लागाईएको छ ।