मकवानपुर । मकवानपुरमा सोमबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । त्रिभुबन राजपथ स्थित मकवानपुरको थाहा नगरपालिका-३ मा भएको दुर्घटनामा अन्य चारजना घाइते भएका छन्  ।
सोमबार साँझ करिब ७ बजेको समयमा थाहा-३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा गोपाली गाँउबाट थानाबजारतर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा हाल वतन नखुलेका अन्दाजी ४० वर्षका कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको र शब स्वास्थ्य केन्द्रमै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते हाल वतन नखुलेको अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेश कुमार साहलाई उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टर तर्फ पठाईएको साथै बाराको जितपुर सिमरा-१७ बस्ने ३२ वर्षीय छेयाङ दोर्जे लामा र बाराको कोल्बि नगरपालिका-०१ बस्ने ३० वर्षीय रामगुलाम चौधरीको  प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भईरहेको उहाले जानकारी दिनुभयो ।
बस सडकमा हिडिरहेका पुरुष ब्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाको उप-मेयर भरत गोपालिको घर भित्र बस पस्न गई दुर्घटना भएको थियो । प्रहरीले बस र चालक थाहा- ५ बसन्त बस्ने २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।