मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाज रुपान्तरणमा सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले ९ औ विश्व रेडियो दिवस २०२० को अवसर पारेर आज हेटौंडामा आयोजना गरेको रेडियो र विविधता सम्बन्धी अन्तरक्रियामा वोल्दै मुख्यमन्त्री पौडेलले जनताको सबै भन्दा सहज र सरल सञ्चार माध्यम रेडियो भएकाले भ्रमक सुचना प्रशारण गर्न नहुने बताउनुभयो ।

रेडियोले जस्तो सुकै कुरालाई पनि नकारात्मक रुपमा प्रसारण गर्दा जनतामा नैरास्यता उत्पन्न हुने भन्दै मुख्यमन्त्री पौडेलले सञ्चार माध्यमले त्यसता कुरामा बिचार पु¥याउनु पर्ने बताउनुभयो । उहाँले सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न आग्रह समेत गर्नुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो– “ “हामिले गरेका राम्रो कामको राम्रो प्रतिक्रिया दिनुस नराम्रो कामको पनि राम्रैसँग आलोचना गर्नुस, तर सत्यतथ्य मात्र वोलिदिनुस । ” मुख्यमन्त्री पौडेलले सरकारले अगाडी सारेको समृद्धिको यात्रामा सञ्चार माध्यमको भुमिका महत्वपुर्ण हुने भन्दै सञ्चार माध्यमहरुको सरकार प्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो । सञ्चार माध्यमले समाजमा सकारात्मक सन्देश दिनुपर्ने भन्दै उहाँले अझै सामुदायिक रेडियोको समुदाय प्रतिको दायित्व सकारात्म र प्रभावकारी हुनुपर्ने वताउनुभयो । सञ्चार माध्यम प्रति प्रदेश सरकार संवेदनशिल रहेको भन्दै मुख्यमन्त्री पौडेलले आगामि बर्षदेखि सामुदायिक रेडियो मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन उल्लेख्य भुमिका निर्वाह गर्ने सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने समेत बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ बागमति प्रदेश प्रदेश अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा, प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, सामुदायिक रेडियो प्रसारक संघका केन्दीय महासचिब गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, ब्रोकाष्टिङ एशोसीएसन अफ नेपाल वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।