मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेस्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार समापन भएको छ । नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले गरिएको महायज्ञको बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता समापन समारोह भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रेष्ठले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको विकासमा सबै प्रतिबद्ध बन्नुपर्ने बताए । स्थानीय स्तरमा रहेका यस्ता स्थानहरूको संरक्षण, प्रवर्द्धन, र पूर्वाधार विकास गरी धार्मिक पर्यटनलाई अझ प्रभावकारी बनाउन सकिने बताउँदै उनले भने महायज्ञले केवल आध्यात्मिक चेतनाको अभिवृद्धि मात्रै गर्दैन, स्थानीय अर्थतन्त्रलाई पनि सबल बनाउँछ । बागमती प्रदेश सरकारमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री भइरहँदा यस क्षेत्रको खानेपानी तथा सिँचाइ क्षेत्रको लागि विशेष बजेटहरू विनियोजन गरेको बताउदै प्रदेश सरकारको तर्फबाट यस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकासका लागि आवश्यक पहल गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
यस्तै कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, समाजसेवी कमल बिष्टले महायज्ञले हाम्रो समाजमा धार्मिक चेतना जगाउने, युवा पुस्तालाई नैतिक आचरणमा स्थापित गर्ने, र सांस्कृतिक धरोहरको रक्षा गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महायज्ञबाट करिब १३ लाख रुपैयाँ सङ्कलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक कृष्ण देव भण्डारीले बताए । संकलित रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्तरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा ९पर्खाल० निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा महायज्ञ भएको हो । पण्डित बद्रीविशाल शास्त्री प्रमुख वाचक र पण्डित अनमोल धिताल उपवाचक रही कथा वाचन गरिएको महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहेको आयोजकले जनाइएको छ ।।