मकवानपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६, डिपार्टमा शनिबार दिउसो दुईवटा सवारीसाधन एकाअपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते एकजनाको मृत्यु भएको छ । दुर्घटनामा कार चालक हेटौंडा-४, स्कुलरोड बस्ने अन्दाजी वर्ष ६० का सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।
यस अघि प्रहरीले घाइते ८ जना भनिएकोमा घाइतेको संख्या १३ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार दिउसो बिरगंजबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा चितवन स्थित एलाईभ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य १३ जना घाइते भएका छन । घाइते हुनेमा कारमा सवार चितवनको राप्ति नगरपालिका-२ गड्यौली बस्ने बर्ष ५५ का ओम कुमार श्रेष्ट, ५० वर्षीया सुनिता श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा स्कारपियोमा सवार पर्साको बिरगंज महानगरपालिका-२, छपकैया बस्ने २६ वर्षीय पुजा देवि शाह, निजको छोरी ८ वर्षीया प्रियान्सि शाह, सोही स्थानका आँखा र २३ वर्षीया सुरदी देवि, २१ वर्षीया निशा कुमारी शाह, १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजिब कुमार साह, १९ वर्षीया आरति कुमारी साह ४ वर्षीया दिब्या कुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा रहेको प्रहरीले जनाएको छ । उनिहरुको चितवन स्थित एलाईभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।