file photo

भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् ।

आउँदाे वर्षकाे आईपीएलका लागि आज भएकाे अक्शनमा पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ कराेड भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तकाे न्यूनतम अक्शन मूल्य २ कराेड भारु रहेकाे थियाे । यसअघि आजै अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

यसअघि मिचेल स्टार्कलाई गएकाे वर्ष काेलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

यो समाचार तयार पार्दासम्म आजको अक्शनमा इङ्गल्यान्डका जोस बटलर १५ करोड ७५ लाखमा गुजरात टाइटन्समा, अस्ट्रेलियाका मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा १० करोड ७५ लाखमा गुजरातमा, भारतका मोहम्मद शमी १० करोडमा सनराइजर्स हैदराबादमा, भारतकै युजवेन्द्र चाहल १८ करोड भारुमा पञ्जाबमा अनुबन्ध भएका छन् ।

यस्तै भारतका मोहम्मद सिराज १२ करोड २५ लाखमा गुजरातमा, भारतकै केएल राहुल १४ करोड भारुमा दिल्लीमा अनुबन्ध भएका छन् । यस्तै भारतका अर्शदीप सिंहलाई पञ्जाबले १८ करोड भारुमा ‘राइट टु म्याच’ (आरटीएम) को विकल्पमा अनुबन्ध गरेको छ ।