मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को अध्यक्ष पदको उपनिर्वाचनका लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ  । उपनिर्वाचनका लागि उम्मेदवारी कायम भएका १२ जनालाई निर्वाचन कार्यतालिका अनुसार आज चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि उम्मेदवारी कायम भएका दल तर्फबाट ९ र स्वतन्त्रबाट ३ जनालाई निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईका अनुसार उम्मेदवार कायम भएका उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा (६) र (७) बमोजिम देहायका निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का राजेश नगरकोटीलाई सूर्य चिन्ह, नेपाली काँग्रेसका अर्जुन प्रसाद तिवारीलाई रुख, माओवादी केन्द्रका रवि कुमार प्रधानलाई चुनाब चिन्ह गोलाकारभित्र हँसिया हथौडा प्रदान गरिएको छ ।
यस्तै रास्वपाबाट आशा वीर बललाई घण्टी, राप्रपाका प्रेम बहादुर भोलनलाई हलो, जसपा छविलाल वाईबालाई ढल्केको छता, मंगोल नेशनल अर्गनाइजेशनका दीपा लामालाई कुखुराको भाले, नेमकिपाका फुलमाया तितुङलाई मादल र नेकपा एकीकृत समाजवादीका बलराम बललाई कलम चिन्ह प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै उम्मेदवारी कायम रहेको स्वतन्त्र उम्मेदवार अर्जुन घलानलाई लसुन, गीताकुमारी नेवारलाई चापाकल र छत्र प्रकाश अधिकारीलाई हात मिलाएको चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएकाे छ । हेटौंडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा कुल ८ हजार ५३ मतदाता रहेका छन् । उक्त निर्वाचनका लागि २ मतदानस्थलमा ९ वटा केन्द्रहरू निर्धारण गरिएको छ । वडामा महिला ४१७४, पुरुष ३८७८ र अन्य १ जना गरि कुल ८०५३ मतदाता रहेका छन ।