मकवानपुर । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरी गाउँपालिका–३ मा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दुई खेलाडीका परिवारलाई राहत उपलब्ध गराईएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर परिवारलाई राहत उपलब्ध गराउनु भएको हो ।
सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिका–१२ का मृतक अनुपम घलानका बुवा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र मकवानपुरगढी–४ का मृतक साइमन योञ्जनका बुवा हेमबहादुर योञ्जनलाई प्रजिअ चिलुवाल रकम हस्तान्तरण गर्नुभयो । राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु समेत पुग्नु भएको थियो ।
एन्फाले गत वैशाख महिनाबाट सिस्नेरीको टेकरमा होस्टल र आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेको थियो । इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्पका ४० खेलाडीमध्ये मकवानपुरका तीनसहित ६ जनाले पहिरोमा परेर ज्यान गुमाएका थिए । मृत्यु हुनेमा मकवानपुरका तीनजना बाहेक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई भने शुक्रबार आज सिस्नेरीस्थित घरमा नै गएर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलवाल बताउनुभयो ।