मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रहरी प्रशासनबाट नै जनताले राज्यको प्रत्यक्ष अनुभूति गर्ने बताउनुभएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री लामाले भन्नुभयो, ‘प्रहरीले नागरिकसँग गर्ने व्यवहारबाटै राज्यप्रति नागरिकको धारणा बन्छ। जनतालाई राज्यबाट दिइने पहिलो सेवा नै प्रहरी सेवा हो ।’ उहाँले नयाँ भवनले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। साथै, अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान र विपद् उद्धार जस्ता कार्यहरू आधुनिक प्रहरी सङ्गठनबाट मात्र सम्भव हुने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रहरी समायोजन हुनुपर्ने र प्रहरी सङ्गठनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश प्रहरी प्रमुख विष्णुबहादुर केसीले प्रहरी सङ्गठनको भौतिक संरचना बलियो बनाउनुपर्ने बताउनुभयो। भवन निर्माणका लागि प्रदेश सरकार र प्रहरी प्रधान कार्यालयले गरी कुल २० करोड ५४ लाख रुपैयाँ खर्च गरेको जानकारी दिइएको छ । नयाँ प्रशासनिक भवनमा एकसय ११ वटा कोठा छन् ।
