हेटौँडा – बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले मन्त्रीहरुलाई समितिको बैठकमा उपस्थित हुन ध्यानाकर्षण गराएको छ । आइतबारदेखि सुरु भएको समितिको बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान र युवा तथा खेलकुद मन्त्री रत्न ढकाल बिना जानकारी अनुपस्थित भएको भन्दै ध्यानाकर्षण गराएको समितिका सभापति केशवप्रसाद पोखरेलले बताउनुभयो ।
बुधबार बिहान सम्पन्न बैठकपछि सभापति पोखरेलले मन्त्रीहरुसँग समय लिएरै वैठक बोलाइएको उल्लेख गर्दै संसद र संसदीय समितिको गरिमालाई ध्यान दिन मन्त्रीहरुलाई ध्यानाकर्षण गराएको बताउनुभयो । ४ दिनसम्म चलेको बैठकले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाहरुको फागुन मसान्तभित्र अनुगमन गर्ने निर्णय समेत गरेको छ । अनुगमनका लागि ४ वटा उपसमिति गठन गरेर ४ वटै क्लस्टरमा अनुगमन गर्ने निर्णय गरेको सभापति पोखरेलले जानकारी दिनुभयो । यस्तै पुँजीगत खर्च कम हुने र साधारण खर्च शतप्रतिशत हुने अवस्था देखिएको भन्दै समितिले साधारण खर्च कटौति गर्न मन्त्रालयहरुलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।