मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । आइतबार साँझ बसेको कार्यसमिति बैठकले सोमबारदेखि पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेकाे हो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार बिहान राजनीतिक दलका भातृ संगठन र सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गर्ने जनाइएकाे छ । भने, सोमबार दिउँसो १२ बजे व्यापारीको भेला आयोजना गर्नुका साथै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनको औचित्य, संघको धारणा र संघर्षका कार्यक्रमबारे जानकारी गराउने उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईले जानकारी दिनुभयाे ।
यस्तै दोस्रो दिन मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आव्हान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रियाको कार्यक्रम तय गरिएको उहाँले बताउनुभयाे ।
तेस्रो दिन बुधबार हेटौँडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णय विरुद्ध हस्ताक्षर संकलन गर्ने, हेटौँडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो व्यानर राख्ने निर्णय गरेको छ । चौथो दिन बिहिबार हेटौँडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।
संघर्षको कार्यक्रमअन्तर्गत पाँचौं दिन शुक्रबार ¥यालीसहित व्यापार व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिकामा चावी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ । बैठकले निर्माण व्यवसायी संघसहित सबै सरोकारवालासँग एकतावद्ध भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेकाे छ ।
