हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ । मंगलबार हेटौंडा–१०, स्थित प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासकाे मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गाेविन्द लम्सालले जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठक ३ बजेका लागि तय गरिएको छ । सत्ता साझेदार दल नेकपा एमालेले पनि विश्वासकाे मतसम्बन्धी निर्णय गर्नका लागि दलकाे बैठक बसेर लामालाई विश्वासकाे मत दिन ह्ववीप जारी गरेको छ ।
लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् । गत साउन ९ गते एमालेको समर्थनमा लामा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।