मकवानपुर । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामासहितको उपस्थितिमा बसेको बैठकले साउन ६ गते बस्ने प्रदेश सभामा मुख्यमन्त्री जमकट्टेलको विपक्षीमा मतदान गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

यसअघि बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मतदान गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा पर्नुभएको छ । जम्कट्टेल सरकारलाई नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । बागमतीमा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

यसैबीच सभामुख भुवन कुमार पाठकले असार ६ गते दिउँसो १ बजेका लागि बागमती प्रदेश सभाको बैठक आव्हान गर्नुभएको छ । बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

विश्वासको मत सम्बन्धी प्रस्तथाव माथि छलफल गर्नुअघि सभामुख साउन ५ गते दिउँसो ३ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान गर्नुभएको छ । सो बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया र संसदको अन्य कार्यसूचि तयार गर्ने जनाईएको छ ।