मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थित हेटौँडा अस्पतालले औषधि दानपात्र सञ्चालनमा ल्याएको छ । अस्पतालले शुक्रवारदेखि औषधि दानपात्र सेवा सञ्चालन गरेको हो ।
अस्पतालको दानपात्रमा इच्छा लागेको व्यक्तिले औषधि दान गर्न सक्ने अस्पतालका सूचना अधिकारी राजिब झाले बताउनुभयो । नागरिकहरूले आफूले खरिद गरि प्रयोग गरेर बचेका वा किनेर पनि औषधिहरू दान गर्न सक्ने गरि औषधि दानपत्र सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो ।
विशेष दिनहरूमा सहयोग गर्न चाहनेले औषधि किनेर पनि दान गर्न सक्ने साथै, स्वास्थ्य शिविरबाट बचेका औषधिहरू पनि दान गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो पहलले एकातिर औषधिको अपव्यय रोक्ने र अर्कोतिर गरीब बिरामीहरूलाई सहयोग पुग्ने विश्वास अस्पताल प्रशासनको रहेको छ ।
संकलित औषधिहरूलाई “औषधि बैंक” को अवधारणा अनुसार व्यवस्थापन गरिने झाले बताउनुभयो । हरेक हप्ता वा तीन÷तीन दिनमा औषधिहरूको अवस्था जाँच गरी प्रत्येक वार्डमा राखिने व्यवस्था मिलाइएको उहँँले जानकारी दिनुभयो । संकलित औषधिहरू आर्थिक रूपमा विपन्न बिरामीहरूको निःशुल्क उपचारमा प्रयोग गरिने बताउँदै यसले विपन्न बिरामीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको बताउनुभयो ।