इङ्गल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएका बीबीसीले जनाएको छ । हिजो राति भएको युरो कप फाइनलमा इङ्गल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।
सन् २०१६ मा इङ्गल्यान्ड फुटबल टिमको प्रशिक्षक बनेका साउथगेटले ८ वर्षपछि राजीनामा दिएका हुन् । उनको नेतृत्वमा इङ्गल्यान्ड सन् २०२१ र २०२४ गरी २ पटक युरो कप फुटबलको फाइनलमा, सन् २०१८ को फिफा विश्वकपको सेमिफाइनलमा र सन् २०२२ को फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो ।
ग्यारेट साउथगेटको प्रशिक्षणमा इङ्गल्यान्डले १ सय २ खेलमा ६१ पटक विजयी भएको छ । यस्तै २४ खेल बराबरीमा सकिँदा १७ खेलमा इङ्गल्यान्ड पराजित भएको छ । राजीनामा दिँदै उनले साथ र सहयोगका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।