प्रतीकात्मक तस्बिर

मकवानपुर । हेटौंडामा सवारी दुर्घटनामा ८६ वर्षीय वृद्धको मृत्यु भएको छ । हेटौंडा–१२ पदमपोखरी बलटोलमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको हो ।
असार ५ गते अपराह्न करिब ३ः३० बजे प्रदेश ३।०१।०२४ च ३९६७ नम्बरको योद्धा पिकअप गाडीले ब्याक गर्ने क्रममा ८६ वर्षीय सूर्य बहादुर थिङलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थिङलाई तत्काल हेटौंडा अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारको लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो ।

भरतपुरमा ५ दिन उपचार पश्चात् डिस्चार्ज भई घर फर्केका थिङको स्वास्थ्य अवस्था बिग्रिएपछि असार १७ गते पुनः हेटौंडा अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटना गराउने गाडीका चालक ३२ वर्षीय संजय लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पदमपोखरीले लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ।