हेटौँडा । हेटौंडा उपमहानगरपालिका–९, स्थित प्रगति माध्यमिक विद्यालयले २०८० सालको एसईई परिक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरेर एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा अभिमुखिकरण प्रदान गरेको हो ।

प्रगति मावि मकवानपुर जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । एसईई परीक्षामा कुल ११७ जना विद्यार्थी सहभागि भएका मध्ये उक्त विद्यालयबाट ८१ जना अर्थात ७५.७० प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् ।

कार्यक्रममा विषयगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार समेत प्रदान गरिएको थियो । विद्यालयबाट एसइइमा सहभागि मध्ये गणित विषयमा ५ जना, अंग्रेजीमा ६ जना, नेपालीमा २ जना र अतिरिक्त गणितमा ६ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरञ्जन ढकालले भविष्यमा अझ राम्रो नतिजा ल्याउने लक्ष्य राखेको बताउनुभयो । साथै उहाँले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि निःशुल्क कक्षाको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षता एवम् संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरू विष्णु रानामगर, कमला पौडेल, विद्यालयका निवर्तमान अध्यक्ष प्रदीप पराजुली, पूर्व अध्यक्ष विष्णुमणि अधिकारी, सामूदायिक सेवा केन्द्रका अध्यक्ष राम विष्ट, पिटिए अध्यक्ष राजु गौतमलगायतकाे उपस्थिती रहेको थियो ।  १ हजार ३ सय विद्यार्थी अध्ययनरत प्रगति माविमा कक्षा १२ सम्मकाे अध्यापन हुन्छ ।