मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कृषि र पर्यटनको विकासले मकवानपुरको आर्थिक समृद्धि सम्भव भएको बताउनुभएको छ । मकवानपुर गढी गाउँपालिकाद्धारा आज गढी–६ डुम्रेकुनामा आजोजित जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख खुलालले कृषि क्षेत्रको व्यावसायीकरणसँगै पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले मकवानपुर जिल्लामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको र त्यसलाई व्यवस्थित योजनाका साथ अगाडी बढाउनुपर्ने बताउनुभएको छ । भौतिक विकासलाई मात्र समृद्धि मान्न नसकिने भन्दै प्रमुख खुलालले सामाजिक परिर्वतनका साथै असल संस्कार र हाम्रा संस्कृतिको विकास र जर्गेना गर्दै लानु पर्ने बताउनुभयो । हाम्रा संस्कृति र संस्कारहरु विश्वमै नमुनालायक भएको भन्दै उहाँले हाम्रो संस्कृति र संस्कारले पर्यटकलाई आकर्षित गर्न सक्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा गढी गउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले गाउँपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएको बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनका क्षेत्रमा विभिन्न योजनाहरु ल्याउको भन्दै उहाँले विदेशमा रहेका युवालाई सो योजनाका उपयोग गर्न आग्रह समेत गर्नुभयो । उहाँले गढी गाउँपालिकाले कृषि पेशा गर्न ईच्छुक युवाका लागि ५० हजार सम्म अनुदान दिने जस्ता कृषि प्रबद्धनका कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो ।

गढी गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको व्यवस्थापनमा कृषि र पर्यटन मार्फत आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने सिर्षकमा प्रतियोगिता आयोजना गरिएकको हो । कुल ८ समुहको सहभागिता रहेको प्रतियोगितामा हेटौंडा–११ को समुह प्रथम, गढी–३ को समुह दोस्रो र हेटौंडा–५ को समुह तेस्रो भएको कार्यक्रम संचालक सन्देश तुम्लिङ् मगरले जानकारी दिनुभयो । प्रतियोगितामा विजेयीहरुलाई आगामी माघ १० गते मकवानपुर गढी दरवारमा आयोजना हुने २५७ औ विजय उत्सव कायृक्रमका अवसरमा पुरस्कार वितरण गरिने गाउँपालिकाले जनाएको छ ।