हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा उत्पादन बढाई रोजगारी सिर्जना गर्ने बताउनुभएको छ । शुक्रबार बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री थपलियाले पूर्वाधार क्षेत्रमा लगानी बढाउने, आर्थिक असमानतालाई न्यूनीकरण गर्ने, सामाजिक क्षेत्रको विकास गर्ने, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रवर्धन गर्ने उद्देश्यहरु लिई सो उद्देश्यहरु प्राप्त गर्न बजेटले विभिन्न प्राथमिकताहरु समेत निर्धारण गरेको छ ।

उहाँले बजेटले समावेशी आर्थिक विकासको आधार तयार गर्न पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आर्थिक गतिविधिलाई प्रोत्साहित गर्ने गरी कार्यक्रमहरु निर्धारण गरेको जानकारी दिनुभयो । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिको व्यवसायीकरणमा सहयोग हुने खालका कार्यक्रममा बजेट विनियोजन गरिएको उहाँको धारणा थियो । मन्त्री थपलियाले वन व्यवस्थापन, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण एवं उत्थानशीलता अभिवृद्धि गर्न लगानी केन्द्रीत गरी विपद् उत्थानशील भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

यसैगरी युवाहरुको लागि रोजगारी र स्वरोजगारीका अवसरहरुको सिर्जना गर्न नवप्रवर्तन र स्टार्ट- अपको प्रवर्धन तथा विकासका लागि लगानी प्रोत्साहित गरेको नीतिगत र संरचनागत सुधार मार्फत करका दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र सम्भाव्य स्रोतको खोजी गरी प्रदेशको आन्तरिक आय वृद्धि गर्ने गरी प्रदेशको राजश्व नीति तय गरिएको बताउनुभयो ।
उहाँल प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना र अधुरा आयोजना निर्धारित समयमा सम्पन्न गर्न आवश्यक प्रवन्ध गर्दै प्रदेश सडक गुरुयोजना अन्तर्गतका सडक तथा पुल निर्माण, प्रदेश लोक मार्गको स्तरोन्नति र निर्मित भौतिक संरचनाहरुको नियमित मर्मत सम्भार गर्ने व्यवस्था गर्ने गरी यो बजेटले व्यवस्था मिलाएको पनि बताउनुभयो । प्रदेश सरकारका भौतिक संरचनाहरुको निर्माण, जनशक्ति व्यवस्थापन तथा मानव संसाधनको क्षमता विकास गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री, चुस्त र प्रभावकारी बनाउने गरी बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने गरी स्वास्थ्य संस्थाहरुको सबलीकरण र प्रादेशिक अस्पतालहरुको सेवा विस्तार मार्फत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न यो बजेटले ध्यान दिएको भन्दै उहाँले आधारभूत तथा गुणस्तरीय खानेपानी सेवा विस्तार एवं सरसफाइ सेवामा लगानी बढाउँदै साहित्य, कला, संस्कृति, युवा तथा खेलकुद क्षेत्रको विकास तथा प्रवर्धन गर्नेतर्फ यो बजेट लक्षितमा उहाँको जोड थियो ।