मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालका विषयमा भ्रममा नपर्न आग्रह गर्नुभएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले देशैभरीका अन्य प्रतिष्ठान जस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि सरकार मातहतकै प्रतिष्ठान रहेको भन्दै यसमा कुनैपनि भ्रम सृजना गर्नु नपर्ने बताउनुभयो ।

प्रतिष्ठान र अस्पतालका विषयमा सबैले यथार्थ कुरा बुझ्नुपर्ने उहाँको भनाई थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययन अनुसन्धान र चिकित्सा शिक्षाको क्षेत्रमा उल्लेख्य कामहरु गरेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा स्वास्थ्य विज्ञानअन्तर्गतका विभिन्न विषयहरुको अध्यापन भइरहेको छ जसमा २७० जना विद्यार्थीहरु अध्ययनरत रहेकाछन् भने थप विद्यार्थीहरुलाई पठन पाठन गराउने गरी व्यवस्था गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘निकट भविष्यमै एमबिबिएसको पठन पाठन शुरुगर्ने तयारी भइरहेको छ । अस्पताललाई ५०० वेडको विस्तार गर्ने काम तिव्र गतिमा अगाडि बढेको छ । बेसिक हेल्थ साइन्स(द्यबकष्अ ज्भबतिज क्अष्भलअभ) को पठन पाठनका लागि प्रतिष्ठानले ५५ करोडको लगानीमा हेटौंडा–१०, टिसिएनमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ । प्रतिष्ठानले स्वास्थ्य सेवाका लागि विज्ञ चिकित्सक तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखी काम गरिरहेकेको हुँदा केहि वर्षभित्रै प्रतिष्ठानबाट शिक्षा लिएका स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आउने अवस्था छ ।’ अहिले प्रतिष्ठान तथा अस्पतालबारे भ्रम उत्पन्न हुनेगरी आउने गरेका विषयहरु र यर्थाततामा समस्या रहेको पूर्ब मुख्यमन्त्री पौडेलले पत्रकार सममेलनमा बताउनुभयो ।
प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य सेवा र शिक्षा नीतिअनुरुप काम गर्ने हुँदा अस्पताल पूर्णत सरकारी अस्पताल रहेको बताउँदै उहाँले भन्नुभयो–‘अस्पताल सेवा तथा स्वास्थ्य शिक्षा समेत सरकारी नीति नियमअनुसार नै संचालन हुने हो । तथ्य विपरित आउने अभिव्यक्तिमा कुनै सत्यता छैन । संघीयता कार्यन्वयनसँगै जिल्ला अस्पतालको अवधारणमा परिवर्तन आइसकेको छ । सबैखाले जिल्ला अस्पतालहरु प्रदेश अस्पतालमा परिवर्तन भइसकेका छन् । यो प्रतिष्ठानले संचालन गरेको अस्पताल हाम्रै हेटौंडा अस्पताल हो, यसको अस्तित्व र ईतिहास मेटिएको छैन । थप सुदृढ र सक्षम हुँदै गएको छ । यसमा हामी मकवानपुरबासीले गर्व गर्नु पर्दछ ।’
प्रदेश राजधानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा करिव ५ वर्षकै अवधिमा ठूलो फड्को मारेको, स्वास्थ्य सेवामा मकवानपुरबासी आत्मनिर्भर बन्दै गएको, जिल्ला बाहिरका बिरामी समेत उपचार गर्न आउने वातावरण बनेको यथर्थतालाई सबैले मनन गर्नु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘कूनै पनि वहानामा प्रतिष्ठानले प्रदान गर्ने सेवा सुविधा कटौती हुने आमनागरिकले लिने स्वास्थ्य सेवामा कटौती हुनेगरी गरिने सबैखाले प्रयास अभिव्यक्ति र टिप्पणीलाई हामीले कडा रुपमा प्रतिवादगरी प्रतिष्ठानको स्वायत्तता र स्थायित्वका लागि खवरदारी गर्नु पर्ने अवस्था छ । प्रतिष्ठान अन्तर्गतको स्वास्थ्य सेवा र स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि भइरहेका काम आमनगरिकका लागि नै हो । यसको संरक्षण गर्ने, जगेर्ना गर्ने दायित्व हामी सबैको हो । तसर्थ सबैले सचेत रही यसको संरक्षण र विकासमा लागिपर्नुपर्ने अवस्था छ ।’
कार्यक्रमम नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य बद्री लंसाल, एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।