हेटौंडा । बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यन्वयन गर्ने औपचारिक घोषणाको तयारी तीव्र पारिएकाे छ । बागमती प्रदेश सरकारले औपचारिक घोषणाको लागि मूल समारोह समिति गठन गरी तयारि तीव्र पारेकाे छ । यही वैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तीव्र पारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिनुभयाे । मन्त्री बज्रचार्यको संयोजकत्वमा ३०३ सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । काठमाडौँको खुसीबुमा आज आयोजित एक कार्यक्रममा ३०३ सदस्यीय मूलसमारोह समिति गठन गरी घोषणा गरिएको हो ।
समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहनु भएकाे छ । प्रदेश सरकारले वैशाख २४ गते प्रदशेभर सार्वजानिक बिदा दिने र सोही दिन काठमाडौँको वसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रन्जना)मा लेखिएका राखिनेछन् । त्यसदिन बागमती सरकारले भाषा ऐन कार्यन्वयन आउने दिनको रुपमा सार्वजानिक बिदासमेत दिएकाले घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमार सिं घिसिङले बताउनुभयाे । उहाँका अनुसार २४ गते घोषणा समारोह अघि काठमाडौँका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिने छ ।
संविधानले दिएको अधिकार कार्यन्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यन्वयन गर्न लागेकोमा धन्यवाद दिँदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध पनि गर्नु भएकाे छ । बागमती प्रदेश सरकारले गतवर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।