मकवानपुर । मकवानपुरमा रंगशाला निर्माणकालागि लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा डेढ करोडभन्दा बढी संकलन भएको छ । पूर्वी मकवानपुरको बकैया-४ जुरेलीमा रंगशाला निर्माणका लागि गत चैत ३० गतेबाट लगाइएको महायज्ञमा नगद र जिन्सी गरि एक करोड ६७ लाख ३९ हजार ३३० रुपियाँ सङ्कलन भएको हो ।

करिव तीन बिगाहा क्षेत्रफलमा फैलिएको उक्त रंगशालामा कबडहल, बास्केटबल, टेबल टेनिस, भलिवल, फुटबल मैदान लगायतका खेल खेलाउने गरी रङ्गशाला निर्माण गर्न लागिएको समितिका अध्यक्ष विमल नेपालले जानकारी दिनुभयो । बकैया गाउँपालिका भित्रको खेलमैदान मध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रङ्गशालाका रुपमा विकास गर्नका लागि जुरेली खेलमैदानका लागि स्थानीय सँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरिएको र त्यसको भुक्तानीका लागि महायज्ञ लगाइएकोसमेत उहाँले बताउनुभयो । वैशाख ७ गते समापन गरिएको महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथावाचन गर्नुभएको थियो ।