हेटाैंडा– मकवानपुरको थाहा नगरपालिका–१२ जगडाँडाका किसान व्यवसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी किन्दा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलियत व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब डेढ लाख बराबरका दुहुनु भैँसी किनेर व्यावसायिक रुपमा दूध बिक्री गर्न थालेका छन् ।
पहिले भैँसीको दूध खान बजार पुग्नु पर्ने अवस्था रहेकोमा अहिले घरघरै दुहुनु भैँसी भएपछि कृषकलाई दहीमहीको समेत दुःख छैन । गाउँका २० वटा भैँसीबाट दैनिक करिब १०० लिटर दूध बिक्री हुन थालेको स्थानीय सयपत्री कृषि तथा पशुपालन समूहका अध्यक्ष क्षेत्रबहादुर आलेमगरले बताउनुभयो । मगरका अनुसार दूध खरिद गर्न स्थानीय व्यापारी अटोगाडी लिएर घरघरमै पुग्छन् । भैँसीको दूध प्रतिलिटर रु ६० देखि रु ७० सम्म बिक्री हुने गरेको कृषकहरूको भनाइ छ । दूध विक्रीबाट गाउँमा मासिकरुपमा करिब रु दुई लाख भित्रिने गरेको कृषक कृष्णबहादुर आलेमगरले बताउनुभयो ।
तरकारीखेती, फलफूलखेती, बाख्रापालन, कुखुरापालन, मौरीपालनलगायत जुनसुकै कृषिकर्म अपनाए पनि व्यावसायिक रुपमा गर्ने गरेका जगडाँडाका कृषकको मेहनत देखेर थाहा नगरपालिकाले सो गाउँमा व्यावसायिक भैँसी पालनका लागि १० लाख विनियोजन गरेको थियो । कृषकको लगानी र कृषि विकास बैंकको ऋणसहित करिब रु ३० लाखको दुहुनु भैँसी गाउँमा भित्रिएको स्थानीय समाजसेवी एवं कृषक प्रेमबहादुर आलेमगरले बताउनुभयो ।