मकवानपुर– मकवानपुरका १८ जना घरेलु तथा साना उद्यमीलाई आज उपयुक्त प्रविधि (मेसीन, उपकरण) हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले जिल्लाका १८ जना घरेलु तथा साना उद्यमीलाई करिब ९ लाख १० हजार ६८७ रुपैयाँ बराबरको प्रविधि (मेसीन, उपकरण) हस्तान्तरण गरेको हो ।

सोमबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमबीच साना उद्यमीहरुलाई प्रविधि वितरण गर्नुभएको हो । उहाँले साना तथा घरेलु उद्यमीलाई सिलाई मेसिन, पिको मेसिन, पावर टेलरलगायतका प्रविधि हस्तान्तरण गर्नुभयो । कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका उद्योगको प्रवद्र्धनका लागि कार्यालयले विभिन्न साना उद्योगलाई प्रविधि हस्तान्तरण गरेको हो । प्रविधि हस्तान्तरण गर्दै प्रमुख खुलालले आफूले पाएको प्रविधिको सही सदुपयोग गर्न उद्यमीहरुलाई आग्रह गर्नुभयो । प्रदेश सरकारको तर्फबाट प्राप्त सहयोगलाई सदुपयोग गरेर आर्थिक उपार्जनमा लाग्न उहाँले उद्यमीलाई आग्रह गर्नुभयो । आर्थिक उन्नतीबाट नै राज्यले लिएको समृद्धिको सपना पुरा हुने भन्दै आफुले पाएको प्रबिधीको सहि सदुपयोग प्रयोग हुनु पर्ने बताउनुभयो । तालिम लिएर मात्रै नहुने भन्दै उहाँले आफुले सिकेको सिप र पाएको प्रविधिको सहि सदुपयोग गर्दै समृद्धि प्राप्ती तर्फ लाग्न आग्रह गर्नुभयो ।

उद्यमीलाई प्रोत्साहन र उद्योगको प्रवद्र्धनका लागि प्रविधि हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जग्गनाथ दाहालले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशतको साझेदारीमा कार्यालयले साना उद्यमीलाई उक्त प्रविधि हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । उद्यमी व्यवसायीहरुको जानकारीको लागि सार्वजनिक सूचना जारी गरिएपछि प्राप्त आवेदनमध्ये प्रविधि हस्तान्तरण कार्यविधि पूरा गरेका साना उद्यमीलाई मात्रै प्रविधि हस्तान्तरण गरिएको उद्योग कार्यालय प्रमुख दाहालले बताउनुभयो ।

प्रविधि पाएका उद्यमीहरुले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता गरिएको उहाँले बताउनुभयो । उद्योग र वाणिज्य प्रशासन (दर्ता, नवीकरण, नामसारी, ठाउँसारी) सीप विकास, उद्यमशीलता विकास तालीम प्रदान, आवश्यक प्रविधि र उपकरण हस्तान्तरण र उद्योग प्रवद्र्धनलगायतका काम गर्दै आइरहेको घरेलु तथा साना उद्योग कार्यालयले यो वर्ष २० लाख बराबरको प्रविधि हस्तान्तरण गर्ने कायृक्रम रहेको दाहालले बताउनुभयो ।