मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले यो वर्षको श्रीचन्द्र शर्मा स्मृति सम्मान ईश्वरी न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष शर्माको स्मृतिमा स्थापित नगदसहितको उक्त सम्मान यो वर्ष हेटौंडा–९, स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका संस्थापक अध्यक्ष एवम् समाजसेवी न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
फउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी जेष्ठ २६ गते एक विशेष कार्यक्रमको आयोजना गरेर नगद १५ हजार ५५५ राशीको सम्मान हस्तान्तरण गर्ने निर्णय गरेको छ । सम्मान प्रदान गर्ने सन्दर्भमा यसअघि बसेको बैठकले फाउण्डेशनका सचिव बोलबहादुर कार्कीको संयोजक्त्वमा सदस्यहरु मुकुन्द अधिकारी र दिलु घर्ती रहेको समिति गठन गरेको थियो । उक्त समितिले सिफारिस गरेका मध्ये आजबेको बैठकले न्यौपानेलाई नगदसहितको उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।
त्यस्तै बैठकले फाउण्डेशनको चौथो वार्षिक साधारणसभा आगामी असार १४ गते गर्ने र फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाल राष्ट्रिय उद्यान महासंघको उपाध्यक्षमा चयन हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने समेत निर्णय गरेको छ ।