नेपाल राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।
११ वैशाख २०८१ देखि १० कात्तिक २०८१ सम्म ६ महिनाको लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । उक्त मुद्दती निक्षेप लिन चाहने बैंकले आवश्यक रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत ४ वैशाखभित्र राष्ट्र बैंकमा पेस गर्न आह्वान गरिएको छ । कुल लगानी गर्ने निक्षेप मध्ये ३ अर्ब ४४ करोड वाणिज्य बैंकमा लगानी गर्ने जनाएको छ ।
त्यस्तै ६४ करोड ५० लाख विकास बैंकमा र २१ करोड ५० लाख फाइनान्स कम्पनीमा लगानी गर्ने भएको हो । निष्क्रिय कर्जा ५ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थाले मात्रै लगानी गर्न सक्नेछन् । न्यूनतम पूँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको, सीडी रेसियो, खुद तरल सम्पत्ति तोकिएअनुसार कायम गरेको हुनुपर्नेछ ।