हेटौंडा । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ । बुधबार नबनिर्मित ५ कोठे भवनको मेयर मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो ।

उपमहानगरपालिकाको ४० लाख र उपभोक्ताको समेत गरि कुल ६७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको कार्यालयबाट सहज सेवा प्रवाह गर्न सकिने वडा अध्यक्ष सुकराम केसीले बताउनुभयो । कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, वडा अध्यक्षहरु हेटौंडा १ का सविन न्योैपाने, हेटौंडा ६ का बिष्णुबहादुर दाहाल, हेटौंडा ८ का रामकृष्ण थापा, हेटौंडा १० का फुर्वा दोर्जे तामाङ, हेटौंडा ११ का जुना दाहाल, हेटौंडा १३ का पेम्वा लामा, हेटौंडा १५ का सुनिल मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

नव निर्मित भवन सुन्दर भए जसरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँन मेयर लामाले निर्देशन दिनुभयाे । कार्यक्रममा ९ नम्बर वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि स्वास्थ्य केन्द्रको लागि भवन आवश्यक भएको अध्यक्ष केसीले जानकारी गराउनु भएकाे थियाे । भवनको लागि आगामि आर्थिक बर्षमा आवश्यक बजेट व्यवस्थापन गरिदिनसमेत उहाँले आग्रह गर्नुभयाे । केन्द्रका लागि ३५ लाख रुपैया बजेट आवश्यक रहेको उहाँले बताउनुभयाे । वडा कार्यालय उद्घाटनमा सयममा काम सम्पन्न गर्ने निर्माण व्यवसायी, उत्कृष्ठ कार्य गर्ने टोल बिकास सस्था, उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।