मकवानपुर– मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका प्रत्येक जिल्लामा एक÷एक वटा ठुला योजना संचालन गर्ने तयारी भईरहेको बताउनुभएको छ । २८५६ औं जीवा ल्हो मुसा पर्व सोनाम ल्होछारका अवसरमा हेटौंडा–१३ पदमपोखरी, ठुलोथलीमा आईतबार ल्होछार बिषेश कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक जिल्लामा एक÷एक वटा ठुला आयोजना संचालन गर्ने योजाना अनुसार पदमपोखरीमा ठुलो शहर स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

पदमपोखरीमा ठुलो स्मार्ट सिटी बनाउने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पौडेलको भनाई थियो । पदम पोखरीमा ठुलो शहर निर्माण गर्न सकिने जग्गा रहेको भन्दै मूख्यमन्त्री पौडेलले जग्गा भएका कारण पनि पदम पोखरीमा ठुलो शहर निर्माण गर्ने योजना बनाएको बताउनुभयो । अर्को वर्ष सम्म रिङरोड निर्माण गर्ने योजना रहेको भन्दै उहाँले रिङ रोड बनेपछि पदमपोखरीको दु्रत रुपमा विकास हुने समेत बताउनुभयो । विकासको क्रमहरु विस्तारै अगाडी बढ्दै गएको भन्दै मुख्यमन्त्री पौडेलले राष्ट«को समृद्धिका लागि सबैको योगदान आवश्यक रहेको समेत बताउनुभएको छ । हेटौंडा–१३ ठुलोथलीमा ल्होछार साँस्कृतिक कार्यक्रम समितिकी संयोजक संगीता वाईवाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोत्तान, जुनेली श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, १३ नम्बर वडा अध्यक्ष मनोज कुमार वाईवालगायतको आतिथ्यता थियो ।