मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज फेरी मन्त्रीपरिषद् बिस्तार गर्दै हुनुहुन्छ । मन्त्रीपरिषद् बिस्तारका क्रममा उहाँले आज नेकपा एमालेबाट चारजना मन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गर्न लाग्नु भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।
नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो । यसअघि चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त हुनु भएको थियो ।