हेटौंडा – हेटौंडा-४ स्थित स्कुल रोडबाट ४ सय जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार नेकपा एमाले ४ नम्बर वडा बजार पश्चिम टोल कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा एकैपटक ४ सय जना भन्दा बढी युवा तथा महिलाहरु पार्टी प्रवेश गरेका हुन् ।
सरबेन्द्र लामाको नेतृत्वमा पार्टी प्रवेश गरेकाहरुलाई नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो । एमालेको संघीय, प्रदेश र स्थानिय सरकारले गरेका विकास निर्माणका कामहरुबाट प्रभावित भएर नै सबैजना एमाले प्रवेशको लहर चलेको उहाँले बताउनुभयो । पछिल्लो समय देशभर दशौं हजारको संख्यामा एमाले प्रवेश गरेको समाचार आइरहँदा देश नै एमालेमय बनेको पनि उहाँले दाबी गर्नुभयो । साथै एमाले प्रवेश गरेको समाचार आउँदा एमाले छोडेको समाचार नसुनिनुले पनि एमाले देशमै सर्वाधिक ठूलो पार्टी रहेको पुष्टि भएको पनि उहाँले बताउनु भयो ।
नेकपा एमाले मकवानपुरका सचीव नविन सिग्देलले प्रदेश राजधानी हेटौंडा भएजस्तै हेटौंडाको राजधानी स्कुलरोड भएको बताउनुहुँदै स्कुल रोडको विकासले नै प्रदेशको विकासको निर्धारण गर्ने उहाँको भनाई रहेको थियो । साथै उहाँले आजको दिनबाट सिंगो स्कुलरोडबासी नै एमाले प्रवेश गरेको दाबी गर्नुहुँदै स्कुलरोड एमालेमय भएको बताउनुभयो ।
नेकपा एमाले ४ नम्बर वडा बजार पश्चिम टोल कमिटीका अध्यक्ष दिपेन्द्र लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, पुर्व संविधान सभा सदस्य अनन्त पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।