यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा जनकपुरधाम आयोजना गर्दै आएको महामूर्ख सम्मेलनबाट सभामुख मण्डललाई सो उपाधि प्रदान गरिएको हो ।

माओवादी सशस्त्र युद्धपछि शान्तिपूर्ण राजनीतिमा आएपछि एमालेबाट सभामुख बनेका मण्डलले मैथिली भाषा साहित्यको उत्थानमा महत्त्वपूर्ण योगदान दिएको भन्दै महामूर्खको उपाधि दिइएको हो । व्यांग्यात्मकरूमा माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको छ । ‘उल्टो गतिविधिबाट सुल्टो गरेर मलाई सम्मान गर्नुभएकोमा विशेष धन्यवाद,’ सभामुख रामचन्द्र मण्डलले भने ।

महामूर्ख सम्मेलनमा पटमूर्खको उपाधि मधेश सरकार अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ । सदाबहार मूर्खको उपाधि प्रधानाध्यापक महावीर दास, वैशाखानन्दनको उपाधि अभियानी दिनेश पूर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार सुवासचन्द्र साहलाई स्थायी मूर्खको उपाधिले सम्मान गरिएको थियो । कार्यक्रममा एक दर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको थियो । होरीमा बढ्दै गएको विकृति अन्त्य गर्न र भाइचारा बढाउने उद्देश्यले मिथिला नाट्यकला परिषद्ले २८ वर्षदेखि महामूर्ख सम्मेलन गर्दै आएको छ ।