मकवानपुर । मकवानपुरमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि २६ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी चैत १५ गते बिहिवार देखि सुरु हुने परीक्षाको लागि कुल २६ केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लामा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भईसकेको ईकाईका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभयो । यस वर्ष मकवानपुर जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिकामा पनी केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । यो वर्ष मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । यस बर्ष जिल्लाका सामुदायिक तर्फका एक सय र संस्थागत तर्फ ३६ विद्यालय गरी कुल १३६ विद्यालय एसइई परीक्षामा सामेल हुने उहाँले बताउनुभयो ।
उहाँले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको तथा उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाउने काम शुरू गरि सकिएको र १÷२ दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५ हजार ७५०, प्राविधिक धर तर्फ २६४ र एक्जाम्टेड तर्फ १४९ गरी कुल ६ हजार १६३ जना विद्यार्थी सहभागि हुने उहाँले बताउनुभयो । यस्तै खुलातर्फ ८४ जना परीक्षार्थी रहेको र भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षार्थी रहेको गौतमले बताउनुभयो ।
यो वर्ष देशभरीबाट भने करिब ४ लाख ८८ हजार जना विद्यार्थीहरू नियमित तर्फ र ७ हजार ग्रेडवृद्धि तर्फ गरी कुल ४ लाख ९५ हजार विद्यार्थीहरूले एसईई परीक्षा दिदै छन् । परिक्षाका लागि देशभरीमा कुल २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत २७ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । साधारणतर्फ सात सय पूर्णाकको परीक्षा हुनेछ भने पूरक परीक्षार्थीले आठ सय पूर्णंकको परीक्षा हुनेछ ।