मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको आठ महीनामा ४ अर्ब ६ करोड ३८ लाख ६६ हजार राजस्व संकलन गरेको छ । गत वर्षको यसै अवधिमा कार्यालयले ४ अर्व ४ करोड ३८ लाख राजस्व संकलन भएको थियो ।

कार्यालयका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार चालू आर्थिक वर्षमा राजस्व विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व संकलन भएको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ०.५ प्रतिशतले राजस्व बढी संकलन भएको भट्टराईले बताउनुभयो । विभागले फागुन मसान्तसम्मका लागि ५ अर्ब ३५ करोड ९६ लाख ३ हजार राजस्व संकलनको लक्ष्य दिएको थियो ।
प्रमुख भट्टराईका अनुसार हालसम्म विभागले दिएको वार्षिक लक्ष्यको करीब ७६ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले चालु आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षको भन्दा करीब ३४ प्रतिशत बढी लक्ष्य दिएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्व ६० करोडको लक्ष्य दिईएकोमा चालु आर्थिक वर्षमा ८ अर्ब ८० करोडको लक्ष्य दिएको उहाँले बताउनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा आय कर बापत ६४ करोड २२ लाख ६२ हजार, घर बहाल करबापत एक करोड आठ लाख १७ हजार, ब्याज कर छ करोड १२ लाख १८ हजार, मूल्य अभिवृद्धि कर ७१ करोड ४५ लाख ५५ हजार, अन्तः शुल्क दुई अर्ब २३ करोड ५० लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३९ करोड ९९ लाख ५६ हजार र अन्य कर १३ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
कार्यालयको फागुन महिनामा मात्र ६३ करोड ९८ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९०.०१ प्रतिशत अर्थात ५९ करोड ५१ लाख २८ हजार रुपियाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिला अर्थात् गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व संकलन गरेको थियो ।
कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिएअनुसारको राजस्व संकलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको विक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको जनाएको छ । कार्यालयले आय कर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
