नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले कार्यशैली सुधार्दै जनसरोकारका मुद्दा उठाउन पार्टीलाई सुुझाव दिएका छन् । नेताहरुले पार्टी सुदृढीकरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली सुधार हुनुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने तथा समाजमा बढ्दो निराशा र सामाजिक अराजकतालगायत जनसरोकारका विषयलाई एमालेले सम्बोधन गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलमा पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्नेजस्ता पार्टी सङ्गठन निर्माणमा महत्त्व राख्न सहभागीले सुझाव दिएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा शुद्धीकरण र सुदृढीकरण, जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती, सङ्गठन र जनपरिचालन सम्बन्धीलगायत प्रस्तावमा समूहगत छलफल हिजो सकिएको छ । समूहगत छलफलको सार आजको बैठकमा पेस हुने एमाले प्रचार विभागले जनाएको छ ।

अस्ति मङ्गलवारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गर्नुभएको पार्टी ‘शुद्धीकरण र सुदृढीकरण’ सम्बन्धी प्रस्तावमा पार्टीको काम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेकाले नागरिकमा विश्वास जाग्न नसकेको उल्लेख  छ ।