मकवानपुर चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । गत शुक्रबारबाट हेटौंडामा भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार सम्पन्न भएको हो ।
भेलाको समापनका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चलचित्र क्षेत्रलाई महत्व दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले चलचित्र क्षेत्रसंगै कला संस्कृतिको क्षेत्रमा काम गर्न र सरकारले गरेको लगानी खेर जान नदिन नीति निर्माणमा अग्रसरता देखाएको बताउनुभयो । चलचित्रले समाजको विद्यमान अवस्था झल्काउनुका साथै गरिखाने वर्गको पक्षमा भूमिका खेलेको उहाँको भनाई थियो ।
‘चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ । गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिन्छ । प्रदेश सरकारले चलचित्र क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको छ । प्रदेश सरकारलाई नीति नहुँदा काम गर्न समस्या भएको थियो,’ उहाँले भन्नुभयो, ‘संस्कृति संरक्षणका लागि प्रदेश सरकारले केही काम गर्ने गरी काम अघि बढाएको छ । सरकारले विकास निर्माण तथा समृद्धिका लागि ५ वर्षे नीति निर्माण गरेर अघि बढेको छ । प्रदेश सरकारले खासखास क्षेत्रमा रुपान्तरणकारी काम गर्नेगरी अघि बढेको छ । राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई प्रशासनिक र आर्थिक अधिकार दिने गरी सञ्चार रजिष्ट्रारलाई जिम्मेवारी दिइएको छ ।’
मुख्यमन्त्री जम्कट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालीन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहलसहित बजेट विनियोजन गरेको उल्लेख गर्नुहुँदै विविध कारणले हुन नसकेको समेत बताउनुभयो । उहाँले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको बताउनुभयो । उहाँले चलचित्र ऐन बनाउन प्रदेश सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको भन्दै आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले सो विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताउनुभयो । उहाँले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । चलचित्र लेखनका लागि प्रदेश सरकारले पटकथा लेखन तालिम संचालन गरी सहयोग गर्ने काम अघि बढाएको समेत उहाँले बताउनुभयो । चलचित्र पत्रकार संघ नेपाल स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौंडामा राष्ट्रिय भेला आयोजना गरेको थियो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो ।