चितवन । चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन् ।
किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् । दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेका संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयाे । यसअघि पटकपटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर सडकमा दूध पोखाउनु परेको उहाँले बताउनुभयाे । भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि बसपार्क चोकमा कोण सभा गरेका उनीहरुले सांकेतिक विरोध स्वरुप सडकमै दूध पोखेका हुन् ।