हेटाैंडा । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २१७ रन बनाउँदा अल आउट भयो ।
१७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो । क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए । नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।