मकवानपुर । हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय गोल्डकप पुटबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी (एपीएफ) र न्यूरोड टीम (एनआरटी) भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तरगत आज बागमती युवा क्लब सर्लाहीलाई ४–० गोलअन्तरले पराजित गर्दै एपीएफले फाईनल यात्रा पक्का गरेको हो ।
दोस्रो सेमिफाईनलमा एपीएफका तर्फबाट अनिश महर्जन, प्रदीप लामा, सर्ज संग र फोडे फोफोनाले एक÷एक् गोल गरेका थिए । एपीएफका तर्फबाट महर्जनले खेलको ४४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै प्रदीप लामाले खेलको ६०औं मिनेटमा, ८१ औं मिनेटमा सर्ज संगले र फोफनाले दोस्रो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटार रंगशालामा जारी प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।