उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभरका सामुदायिक विद्यालय बन्द गरेर राजधानीमा आन्दोलन गर्न आएका शिक्षकहरूलाई आन्दोलनमा संयमता अपनाउन आग्रह गर्नुभएको छ । आन्दोलनरत शिक्षकहरूसँग आज गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री श्रेष्ठले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षकका जायज माग पूरा गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
मुलुकको विकासका लागि शिक्षाको विकास अनिवार्य भए पनि न्यून बजेटका कारण शैक्षिक क्षेत्रमा समस्या देखिएको बताउँदै गृहमन्त्री श्रेष्ठले वार्ता र सहमतिबाटै समस्याको समाधान खोज्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गर्नुभयो ।
छलफलका क्रममा शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्नुभयो । वार्तामा शिक्षक महासङ्घका पदाधिकारीसहित, शिक्षक संघ, सङ्गठनका प्रतिनिधिहरू सहभागी थिए ।