मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख, प्रहरी नायब महानिरिक्षक बिष्णु कुमार केसीले अपराध न्यूनीकरणका लागि प्रभावकारी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आज हेटौंडाका सञ्चारकर्मीहरुसंगको परिचयात्कम कार्यक्रममा उहाँले प्रदेशका १० जिल्लामा प्रहरीबाट हुने गरेका कमिकमजोरीका साथै जनसमुदायबाट आएको जनगुनासोलाई सम्बोधन गर्न र प्रदेशमा हुने अपराध नियन्त्रण गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको हो ।
कार्यक्रममा सञ्चारकर्मिहरुले प्रदेशको राजधानी हेटौँडामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापन, पत्रकारले सहज रुपमा सुचना प्राप्त गर्न परेको कठिनाई, लागूऔषधको ओसार पसार र त्यसको नियन्त्रण, टिपरको आभोरलोडबाट देखा परेको समस्या, सुमो काउन्टरको व्यवस्थापन, नदिजन्य पर्दाथको दोहन जस्ता विषयमा प्रश्न गरेका थिए । सो क्रममा प्रहरी नायब महानिरिक्षक बिष्णु कुमार केसीले ट्राफिक व्यवस्थापन, लागूऔषधको ओसार पसार र त्यसको नियन्त्रण, टिपरको आभोरलोड नियन्त्रण, सुमो काउन्टरको व्यवस्थापन, जथामावी नदिजन्य पर्दाथको दोहन जस्ता समस्या समाधानका लागि सम्बन्धीत सरोकारवालासंगको समेत समन्वयमा नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कतिपय समस्याहरु समाधानका लागि सञ्चारकर्मिहरुको समेत साथ र सहकार्यका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक रवि कुमार पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रहरी नायव उपरीक्षक मधु कुमार थापा लगायत मकवानपुरका सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।