मकवानपुर । शहिद सप्ताहको तेसो दिन आज हेटौँडाको सहिद स्मारकमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । सप्ताह व्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन आज जिल्लाका विभिन्न जात जातिको विविधता झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरिने स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
सहिद स्मारक विकास समितिले हरेक वर्ष झै यो वर्ष पनि सहिद दिवस विविध कार्यक्रम गरेर साताव्यापी रूपमा मनाउँदै छ । पहिलो दिन बुद्धपार्क उद्धाटन र दोस्रो दिन बृहत हस्तकला स्थानीय उत्पादन तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला आयोजना गरेको छ । मेला हप्ताभरी सञ्चालन हुने छ । आजको कार्यक्रममा जिल्लामा रहेका विभिन्न जातजातिको सास्कृतिक नृत्य तथा गित प्रस्तुत गर्नुका साथै नौमति बाजा र दोहोरी गीतको प्रस्तुति प्रस्तुति समेत रहने खुलालले बताउनुभयो ।
सप्ताहब्यापी कार्यक्रम अन्तरगत भोलि चौथो दिन भोलि माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।
राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । शहीदको योगदानको कदर स्वरूप हरेक वर्ष माघ १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउने गरिन्छ ।