बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको पहिलो प्राथमिकता खेलकुद रहेको बताउनु भएको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा बनेपामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र खेलकुद विकास समितिले निर्माण गरेको भवनको समेत उद्घाटन गर्नुहुदैँ उहाँले बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
बागमती प्रदेश सरकारले स्थानीय तहका लागि नयाँ नीति बनाएको र सडकका लागि पैसा परेन भनेर चिन्ता नगर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई मुख्यमन्त्री कट्टेलले अनुरोध गर्नुहुदैँ खेल तथा अन्य क्षेत्रका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले हरेक क्षेत्रको विकास बागमती प्रदेश सरकारको प्राथमिकतामा पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सरकारका मन्त्रीहरु तीर्थ लामा र लक्ष्मण लम्साल, पुर्व मन्त्री तथा सांसद रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतले प्रतियोगिता सफलताको शुभकामना दिनु भएको थियो ।
प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई ९ सय ६० जना विद्यार्थीहरु सहभागि भएका छन् । प्रतियोगितामा भलिबल, हाईजम, लङजम, कवड्डी, दौड, ज्यावलङ थ्रो,कराते लगायतमा विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने अध्यक्ष मानविर लामाले जानकारि दिनुभयाे ।











