file photo

आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य लगायतले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
दिवसकै अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । सन्दशेमा उहाँले ज्येष्ठ नागरिकहरूले आर्जन गरेका अमूल्य ज्ञान र अनुभवहरूलाई समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने उल्लेख गर्नुभएको छ ।
दिवसको अवसरमा आज महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विशेष कार्यक्रम गर्दैछ । मन्त्रालयले जेष्ठनागरिकका पक्षमा काम गर्ने व्यक्ति र संस्थालाई सम्मान एवं पुरस्कार वितरण गर्न लागेकाे हाे ।
मन्त्रालयले यसवर्ष जेष्ठ नागरिकका पक्षमा उल्लेखनीय कार्य गरेको भन्दै व्यक्तितर्फ नेपाली साहित्यमा चट्याङ मास्टरका नामले सुविख्यात कृष्ण मुरारी गौतम,काठमाडौँलाई ज्येष्ठ नागरिक वर्ष पुरुष घोषणा गरी नगद एक लाखसहित सम्मान गर्दैछ भने संस्थातर्फ यो वर्ष महिला तथा वृद्ध सेवा केन्द्र, कञ्चनपुरलाई सम्मान गर्ने जनाएको छ ।