मकवानपुर । मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित भोलीबाट हेटौंडामा सञ्चालन हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
अध्यक्ष खड्कीका अनुसार महोत्सवको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने छ । महोत्सवमा खेलकुदका विभिन्न राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरीय प्रतियोगिता हुनुका साथै करिब २ सय ६० वटा व्यवसायिक स्टल रहने उहाँले बताउनुभयो । “अन्य महोत्सव र यसमा केही फरक छ । हामी मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना गर्नेछौं ।”, खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिएको छ । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिने उहाँले बताउनुभयो । खड्कीले महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने समेत बताउनुभयो । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाईएको छ । महोत्सवबाट समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्ने दावी गरिएको छ ।