मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पानीको महसुल बुझाउने व्यवस्था गरेको छ । बुधबार बोर्ड र एनएमबी बैंकबीच अनलाइनमार्फत महसुल भुक्तानी गर्ने प्रणाली कार्यान्वयन गर्ने सहमति भएसंगै अब ग्राहकले महसुल बुझाउन लाइन बस्नुपर्ने अवस्थाको अन्तय भएको हो ।
बुधबार एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष प्रताप बिष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन लगायतको उपस्थिती थियो ।
हेटौंडामा २०२२ साल देखि २०४२ सालसम्म खानेपानी तथा ढल विकास विभाग र २०४२ साल पछि खानेपानी संस्थान मार्फत र २०६४ सालमा खानेपानी व्यवस्थापन बोर्ड गठन भई २०७० साल जेठ ८ गतेबाट बोर्ड मार्फत उपभोक्तालाई खानेपानी वितरण गरिँदै आएको छ । अहिले बोर्डले उपमहागरपालिकामा २७ हजार धारा वितरण गरिसकेको सुचना अधिकारी संजय न्योपाने बताउनुभयो । बोर्डमार्फत उपमहानगरपालिकावासीमध्ये करीब एक लाख ६० हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११, १२ र १३ नम्बर बाहेक सबै वडामा बोर्ड मार्फत खानेपानी उपलब्ध गराइएको बताउनुहुँदै सूचना अधिकारी न्यौपानेले निकट भविष्यमै ती वडामा पनि बोर्ड मार्फत नै खानेपानी सुविधा उपलब्ध हुने जानकारी दिनुभयो । बोर्डबाहेक उपमहानगरपालिका क्षेत्रमा उपभोक्ता समितिले पनि खानेपानी वितरण गर्दै आएकोमा अहिले ती योजनाहरू पनि क्रमस बोर्डमै हस्तान्तरणको क्रममा रहेको उहाँले बताउनुभयो ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मार्फत खानेपानी प्रयोग गर्ने नगरबासीलाई हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटर नशिुल्क खानेपानी सुविधा उपलब्ध गराएको छ । कुल २७ हजार मध्ये करीब ३५ प्रतिशत अर्थात ८ हजार ग्राहकले अहिले पानी निशुल्क खानेपानी उपयोग गरिरहेको उहाँले बताउनुभयो । बोर्डले दैनिक करीब दुई करोड ५५ लाख लिटर पानी वितरण गर्दै आइरहेको न्यौपानेले बताउनुभयो । मासिक १ करोड १५ लाखदेखि १ करोड २५ लाख रुपैयाँ पानी बिक्रीबापत महसुल उठ्ने गरेको उहाँले बताउनुभयो । बोर्डले चार सय ३८ किलोमिटरमा पाइप बिच्छ्याएर खानेपानी वितरण गर्दै आएको छ ।