मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखि क्यम्पसलाई बागमती प्रदेशको सार्बजानिक बिश्वबिधालय बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले हेटौंडा–२ मा रहेको जिल्लाकै पुरानो र उत्कृष्ठ क्याम्पसलाई प्रदेश विश्व विद्यालयका रुपमा अगाडी बढाउने निर्णय गरेको हो ।
यस अघि बागमती प्रदेश सरकार मातहत रहने गरी प्रदेश सरकारले विश्व विद्यालय स्थापनाका लागि विभिन्न मापदण्डसहित आवेदन माग गरेको थियो । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन आवेदन माग गरेको थियो । प्राप्त आवेदनका आधारमा मकवानपुर बहुमुखि क्याम्पसको मापदण्ड तथा पूर्वाधार पुगेको हुँदा त्यसैलाई विश्वविद्यालय बनाउने निर्णय भएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराईने बताउनुभयो । उहाँले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषयहरु अध्यापन गराइने योजना रहेको समेत बताउनुभयो । प्रदेश सरकारको बजेट भौतिक संरचनामा खर्च नगर्ने र बनेकै संरचनाबाट काम सुरु गर्ने तथा सुरुवाती चरणमा सो विश्वविद्यालयले कृषि, स्वास्थ्य तथा अन्य प्राविधिक विषय अध्ययन गराउने उहँँले बताउनुभयो ।