मकवानपुर । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघकाे दशाैं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएकाे छ । संघका अध्यक्ष रामहरि न्याैपानेकाे सभाध्यक्षता एवम् राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकाे हाे ।
मकवानपुर जिल्लामा बहुउद्देश्यीय सहकारी संस्थाहरुको लगानी दुई अर्ब ७८ करोड रहेको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले दसौं वार्षिक साधारणसभाको अवसरमा मंगलबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा संघमा आवद्ध २० वटा सहकारीले दुई अर्ब ७८ करोड ७३ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । संघमा आवद्ध २३ वटा बहुउद्देश्यीय सहकारीमध्ये दुईवटा सहकारीले विद्यालय सञ्चालन गरिरहेकोले ती सहकारीले ऋण लगानी गरेका छैनन् ।
संघमा आवद्ध २३ वटा बहुउद्देश्यीय सहकारीको सेयर पुँजी ३९ करोड २१ लाख रुपैयाँ रहेको छ । २२ वटा सहकारीले एक अर्ब ८५ करोड ४९ लाख रुपैयाँ बचत संकलन गरेको छ । मकवानपुर जिल्लामा स्थापित ५० वटा बहुउद्देश्यीय सहकारी संस्थामध्ये ३२ वटा क्रियाशील रहेको र २३ वटा बहुउद्देश्यीय सहकारी संस्था जिल्ला संघमा आवद्ध रहेको अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिनुभएको छ । बहुउद्देश्यीय सहकारी संस्थामा दुई सय ६० भन्दा बढीले रोजगारी पाएको अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।