मकवानपुर । हेटौंडा–४, स्थित भुटनदेवी माविले शुक्रबार शुभकामना आदान प्रदान तथा छात्रवृति वितरण कार्यक्रम गरेको छ । विद्यालयले दशैं, तिहार, छठलगायत नेपालीहरुको पर्वहरूका अवसरमा सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान तथा छात्रवृति वितरण गरेको हो ।
विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार ३२३ जना छात्रा विद्यार्थी र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । विद्यालयले ३०८ जना छात्रा र १५ जना दलित गरी कुल ३२३ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले १ लाख २९ हजार २ सय रुपैयाँ वितरण गरेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य सालिकराम पुडासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी र शिक्षकले नृत्य, गायन कला प्रस्तुत गरेका थिए । विद्यालयले हरेक वर्ष दसैं विदा अघि साँस्कृतिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई पर्व विदा दिने गरेको छ ।